बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न
दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष पूरा भएको अवसरमा आयोजित रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्य तथा ऐतिहासिक रूपमा सम्पन्न भएको छ।
“प्रवासी भूमिमा बाग्लुङेहरूको एकता, सामाजिक कार्यमा सबैको सहभागिता, आपतकालीन अवस्थामा बाग्लुङ समाजको आवश्यकता” भन्ने मूल नाराका साथ स्थापना भएको संस्थाले आफ्नो गौरवपूर्ण २५ वर्षे यात्रालाई विशेष समारोहका साथ मनाएको हो। कार्यक्रममा दक्षिण कोरियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, समाजसेवी, पत्रकार, कलाकार, व्यवसायी तथा नेपाली समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि नेपाली सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष हर्क बिष्ट रहनुभएको थियो भने सभापतित्व बाग्लुङ समाज दक्षिण कोरियाका अध्यक्ष राजु नेपालीले गर्नुभएको थियो। कार्यक्रम संयोजक सुबास लामिछाने, स्मारिका प्रकाशन संयोजक याम श्रीस तथा आर्थिक संयोजक भुमिराज भुषालको समन्वयमा सम्पन्न कार्यक्रमको सञ्चालन गिर बहादुर भण्डारीले गर्नुभएको थियो।
रजत जयन्ती समारोहका अवसरमा बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना कालदेखि हालसम्मको इतिहास, संस्थाले दक्षिण कोरिया तथा गृह जिल्ला बाग्लुङमा गरेका सामाजिक गतिविधि, जिल्लाको संक्षिप्त परिचय, कोरियामा रहेका सिर्जनशील व्यक्तित्वहरूका लेख–रचना तथा विभिन्न संघ–संस्थाका शुभकामना सन्देश समेटिएको विशेष स्मारिका विमोचन गरिएको थियो। साथै बृतचित्र समेत प्रदर्शन गरिएको थियो ।
सस्थाको सस्थापक्, पुर्व अध्यक्षहरु, एबम सस्थाको बिकास मा निरन्तर योगदन पुर्याउनु भएका अग्राज ब्यक्तित्वहरुलाई सम्मन गरिएको छ ।
सांस्कृतिक कार्यक्रमतर्फ चर्चित गायक सूर्य खड्काको विशेष प्रस्तुति आकर्षणको केन्द्र बनेको थियो। त्यसैगरी लोक दोहोरी गीत प्रतिष्ठान कोरिया शाखाका कलाकारहरू तथा अन्य कलाकारहरूले प्रस्तुत गरेका गीत, संगीत र सांस्कृतिक नृत्यहरूले कार्यक्रमलाई थप मनोरञ्जनात्मक र स्मरणीय बनाएका थिए। नेपाली कला, संस्कृति र मौलिक पहिचान झल्काउने विविध प्रस्तुतिले उपस्थित दर्शकहरूको मन जितेको थियो।
कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण संघ–संस्था, प्रायोजक, कलाकार, पत्रकार, स्वयंसेवक तथा उपस्थित सम्पूर्ण महानुभावहरूप्रति बाग्लुङ समाज दक्षिण कोरियाले हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ। आफ्नो व्यस्त समयका बाबजुद कार्यक्रममा उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिने सबैप्रति समाजले विशेष आभार व्यक्त गर्दछौ ।
समाजले सहभागीहरूको माया, विश्वास, सहयोग र सद्भावले कार्यक्रमलाई ऐतिहासिक, भव्य तथा स्मरणीय बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आगामी दिनहरूमा पनि प्रवासी नेपाली समुदायबीच एकता, सहकार्य, सामाजिक उत्तरदायित्व तथा सांस्कृतिक संरक्षणका कार्यलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्दता ब्यक्त गर्दछौ । 
